काठमाडौं । आफू अन्यायको शिकार भएको दाबी गर्दै एमाले नेता महेश बस्नेतकै ज्याकेट लगाएर शोभा पाठक एमालेको महाधिवेशन स्थल भृकुटीमण्डप पुगेकी छन् । पार्टीले कारबाही हुनुपर्ने व्यक्तिलाई नै महाधिवेशनको उम्मेदवार बनाएको भन्दै न्यायको मागसहित उनी त्यहाँ पुगेकी हुन् ।
पाठकले आफूले लगाएको ज्याकेट महेश बस्नेतकै भएको दाबी गर्दै दुई वर्षअघि आफूविरुद्ध भएको घटनाको स्मरण गराउन र न्याय माग्न महाधिवेशन स्थलमा आएको बताइन् । उनका अनुसार, घटनापछि न्याय खोज्दै प्रहरीकहाँ जाँदा उनी जाडोले काँपिरहेकी थिइन् । सोही बेला बस्नेतले आफ्नो ज्याकेट खोलेर आफूलाई लगाइदिएको र त्यो ज्याकेट आज प्रमाणका रूपमा लगाएर आएको उनको भनाइ छ ।
उक्त ज्याकेटसहित महाधिवेशन स्थलभित्र प्रवेश गर्न खोज्दा प्रहरी र एमालेका कार्यकर्ताले उनलाई रोकेर बाहिर पठाएको पाठकले बताइन् । अपराध गर्ने व्यक्तिलाई पार्टीले संरक्षण गरेको आरोप लगाउँदै उनले केपी शर्मा ओली नेतृत्वको प्यानलबाट महेश बस्नेतलाई सचिव पदको उम्मेदवार बनाइएकोप्रति गम्भीर असन्तुष्टि जनाइन् ।
उनले महिलामाथि हिंसा र यौन दुर्व्यवहारका आरोप लागेका व्यक्तिलाई उच्च पदको उम्मेदवार बनाउनु गलत भएको भन्दै निरन्तर आवाज उठाइरहेको बताइन् । बलात्कारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको व्यक्तिलाई उम्मेदवार बनाइएको विषयमा आफूले निर्वाचन आयोगमा उजुरीसमेत दिएको जानकारी पाठकले दिइन् ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया