कास्की । कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा २०१६ साल पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रुपमा मनाउन लागेको जनाएको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रुपमा मनाएको थियो ।

महानगर प्रमुख धनराज आचार्यले अभिलेख हेर्दा २०१६ साल पुस २ गते पाँच हजार जनसङ्ख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पाइएको बताए ।

advertisement

महानगरले स्थापना दिवसका अवसरमा भाषा साहित्य, कला (सङ्गीत नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवर्द्धन र अन्य क्षेत्रहरुमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरू मध्येबाट नौ जनालाई पोखरेली नवरत्नबाट सम्मान गर्ने जनाएको छ ।

नवरत्नहरुलाई जनही नगद दुई लाख दुई हजार २०२ र ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने महानगर प्रमुख आचार्यले बताए । उनका अनुसार आज बिहान पोखराको चिप्लेढुँगाबाट बृहत सांस्कृतिक झाँकी ¥यालीसहितको प्रभातफेरि पोखरा सभागृहमा आएर स्थापना दिवस मूल समारोह हुनेछ ।

मूल समारोहमा महानगरपालिकामा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ट गरी ११ जना कर्मचारीलाई सम्मान गरिनेछ । यसैगरी महानगरपालिकाका ३३ वटै वडाहरू मध्येबाट सरसफाइमा उत्कृष्ट तीन वटा वडाहरू, महानगर मातहतका कार्यालयमध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालय र महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ ।

उमेर ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान प्रदान गरिनेछ । मूल समारोहमा पोखरा महानगरपालिकाकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधिहरू, मुलुकका सबै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुखहरू, छिमेकी पालिकाका प्रमुखहरू, पोखरा महानगरपालिकाका पूर्वपदाधिकारीहरू, पूर्वप्रशासकीय अधिकृतलगायत विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको प्रमुख प्रशासकीय अधिृकत मुक्तिराम अर्यालले जानकारी दिए ।

स्थापना दिवसका दिनमा महानगर तथा मातहतका कार्यालयहरुको नियमित सेवा प्रवाह बन्द रहने जनाएको छ । २०१६ साल पुस २ गते पोखरा नगरपालिका स्थापना भएकामा त्यसपछि २०५२ माघ १८ गते उपमहानगरपालिका घोषणा भएको थियो । २०७३ साल फागुन २७ गते पोखरा वरपरका साविकका पाँच गाविस र लेखनाथ नगरपालिकासहित पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो ।

यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ साल साउन २३ गतेको निर्णयले पोखरा महानगरपालिका नाम कायम गरिएको थियो । सो निर्णयको सूचना २०७५ साल भदौ २५ गते राजपत्रमा प्रकाशित भएपछि औपचारिक रुपमा पोखरा महानगरपालिका कार्यान्वयनमा आएको हो ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com