काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा बुधबार दिउँसो टाटा सुमो दुर्घटना भएको छ।
दुर्घटनामा परी एक जना महिला घाइते भएकी छन्।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६९५६ नम्बरको टाटा सुमो दिउँसो करिब ४:५० बजे दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार सुमोको अचानक ब्रेक जाम हुँदा अनियन्त्रित भई सडकको बीचमै पल्टिएको थियो।
सुमोमा चालकसहित ९ जना सवार रहेकोमा एक जना महिला सामान्य घाइते भएकी छन्। अन्दाजी ४५/५० वर्षकी ती महिलाको नाम र वतन खुल्न सकेको छैन।
टाउकोमा चोट लागेकी उनलाई प्रहरी टोली पुग्नुअघि नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। अन्य यात्रुहरूको अवस्था सामान्य रहेको छ।
दुर्घटनाग्रस्त सुमोलाई सडक छेउमा राखी बाटो सुचारु गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया