काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन्, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदाता भने अनुपस्थित रहेका छन् ।

मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको एमालेको महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो । बन्दसत्र सोही दिन बिहान ७ः३० बजे सुरु हुने भनिए पनि अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ः३० बजे मात्र सुरु भएको थियो ।

advertisement

नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि पटक–पटक सर्दै अन्ततः मतदान पुस २ गते बिहान ९ः३० बजेबाट सुरु भएको थियो ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा रहेको छ । त्यस्तै, महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन् ।

विधानअनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् भने तीन जना निर्वाचित हुने उपमहासचिव पदमा छ जनाको उम्मेदवारी परेको छ ।

नौ सिट रहेको सचिव पदमा सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको छ । सचिव पदका लागि २० जना नेताहरू उम्मेदवार बनेका छन् । यसमा गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राई लगायतका नेताहरू रहेका छन् ।

यसअघि मङ्सिर २८ गते बसेको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौ २०–२२ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनले गरेको निर्णय उल्ट्याएको थियो । विधान महाधिवेशनले केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने, पदाधिकारी संख्या १५ राख्ने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो ।

तर अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउन दबाब रहेको भन्दै नयाँ संरचनाको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गरेका थिए । सोहीअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जनाको व्यवस्था गरिएको हो । यस पटक वरिष्ठ उपाध्यक्ष पद भने थप गरिएको छैन, जबकि विगतमा उक्त पद कायम थियो ।

निर्वाचन आयोगले मङ्सिर २८ गते आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । उक्त कार्यतालिका अनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि पटक–पटक संशोधन हुँदै अन्ततः मतदान पुस २ गतेका लागि सारिएको थियो । प्राविधिक कारण देखाउँदै बुधबार बिहान ८ बजेबाट मतदान गर्ने भनिए पनि करिब साढे एक घण्टा ढिला गरी बिहान ९ बजेपछि मात्र मतदान सुरु भएको थियो ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com