काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको छ।

बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

advertisement

लामिछानेले निवेदनसाथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत (ग्यारेन्टी)लाई अदालतले बिगोका हकमा सुरक्षित राख्ने आदेश दिएको छ। निक्षेपकर्ताको रकम सुरक्षित भइसकेको अवस्थामा थुनामै राखेर मुद्दा चलाउनु नपर्ने तर्कसहित अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ बमोजिम उनलाई रिहा गर्ने निर्णय गरेको हो।

यद्यपि, अदालतले लामिछानेलाई रिहा गर्दा केही सर्तहरू तोकेको छ। उनले व्यक्तिगत वा संस्थागत रूपमा विदेश भ्रमणमा जानुपरेमा अदालतलाई पूर्वजानकारी दिनुपर्नेछ। साथै, अन्तिम फैसला हुँदा थप दायित्व सिर्जना भएमा सो रकम तिर्न बुझाउन मञ्जुर भई कागज गराएर मात्र उनलाई थुनामुक्त गर्न भनिएको छ ।

यसैगरी, सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको हकमा भने अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै मिसिल पुनः जिल्ला अदालतमै फिर्ता पठाएको छ। जोशीका कानुन व्यवसायीले बहसका क्रममा बैंक जमानतको छायाप्रति मात्र पेस गरेको हुँदा, उनले सक्कल प्रमाणसहित निवेदन दिएमा पुनः विचार गर्न भन्दै अदालतले मिसिल सुरु जिल्ला अदालत रुपन्देहीमा पठाउने आदेश दिएको हो।

 

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com