काठमाडौं । रास्वपा सभापति रवि लामिछाने रिहाइ प्रक्रिया पूरा गर्न आज काठमाडौंबाट रुपन्देही प्रस्थान गरेका छन्। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा काठमाडौंमा थुनामा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी बिहान हवाईजहाजमार्फत् रुपन्देही पुगेका हुन्।
लामिछानेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरू पनि रुपन्देही गएका छन्।
रुपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा रवि लामिछाने विगत आठ महिनादेखि थुनामा थिए। उनले विगो बराबरको रकम धरौटी राखी रिहा हुनुपर्ने माग गरेका थिए।
सोही मागअनुसार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत बुझाएमा थुनामुक्त गर्न आदेश दिएको हो। साथै अदालतले थप १ करोड रुपैयाँ धरौटी राख्नसमेत निर्देशन दिएको छ।
बिहीबार कार्यालय समय समाप्त भइसकेकाले उनको रिहाइ प्रक्रिया शुक्रबार मात्रै सुरु हुने जनाइएको छ। सो प्रक्रिया पूरा गर्नका लागि नै उनी काठमाडौंबाट रुपन्देही गएका हुन्। यसअघि उनलाई भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया