काठमाडाैं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा हुने अदालतको आदेश आएपछि उनकी पत्नी निकिता पौडेलले आफूहरूमाथि अन्यायपूर्ण पीडा थोपरिएको बताएकी छिन्। उनले यो घटनाक्रमलाई ‘नखाएको विष लागेको’ अवस्थासँग तुलना गर्दै रवि राजनीतिमा सक्रिय भएकै कारण योजनाबद्ध प्रतिशोध साँधिएको आरोप लगाएकी हुन्।
निकिताका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीप्रति बढ्दै गएको जनविश्वास कमजोर पार्ने र व्यक्तिगत रूपमा दुःख–हैरानी दिने उद्देश्यले राज्य संयन्त्र प्रयोग गरियो। सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिँदै उनले लेखेकी छिन्, ‘बढ्दो जनविश्वासलाई कमजोर बनाउन र व्यक्तिगत पीडा दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै समाप्त भएको छ। यो अवधिमा हामीले असह्य पीडा भोग्यौँ—उसले कालकोठरीको पीडा सहनुपर्यो, र मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगें।’
रवि हिरासतमा रहँदा सामान्य मानिसले सहन नसक्ने तहको मानसिक र भावनात्मक यातना भोग्नुपरेको उल्लेख गर्दै निकिताले अदालतको आदेशलाई न्यायको जीतका रूपमा व्याख्या गरेकी छिन्। साथै, उनले अब पनि आफूहरू कानुनी र न्यायिक प्रक्रियामै भरोसा राख्दै अघि बढ्ने दृढ विश्वास व्यक्त गरेकी छिन्।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया