काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्र रहेका प्यानल तथा पक्ष–विपक्षको अवस्था समाप्त भएको स्पष्ट पारेका छन् । महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले ११औँ महाधिवेशनलाई बहुआयामिक र सर्वपक्षीय रूपमा सफल भएको महाधिवेशनको संज्ञा दिँदै केही सानातिना कमजोरी भए पनि ती समग्र सफलताका अगाडि गौण भएको उल्लेख गरे । उनले एकताको भावना र नयाँ उचाइका साथ पार्टी अघि बढ्नुपर्नेमा जोड दिए ।

advertisement

पार्टीभित्र समय–समयमा केही समस्या देखिन सक्ने भन्दै ओलीले आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने प्रयास गर्नुपर्ने बताए । उनले दोस्रो विधान महाधिवेशनबाट पारित वैचारिक तथा कार्यक्रमिक नीतिअनुसार सबैले एकस्वर र एकलयमा अघि बढे मात्र पार्टीले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

असन्तुष्टि भए पार्टी नेतृत्वसमक्ष मौखिक वा लिखित रूपमा राख्न सकिने स्पष्ट गर्दै अध्यक्ष ओलीले सार्वजनिक सञ्चारमाध्यममार्फत पार्टीको प्रतिष्ठामा असर पुग्ने कुनै गतिविधि नगर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए । उनले पार्टी अनुशासनलाई सुदृढ बनाउँदै सामूहिक निर्णयको पालना गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीभित्र प्रत्येक व्यक्ति स्वतन्त्र भए पनि स्वतन्त्रताका नाममा सामूहिक निर्णयविरुद्ध निजी स्वार्थका आधारमा अघि बढ्न नहुनेमा जोड दिए ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com