काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका बेला एक जना नेताको मोबाइल फोन बजेपछि उनले कडा आपत्ति जनाउँदै अनुशासनको कुरा उठाएका छन्।
ओलीले बैठकबीचमै भने, ‘म अनुशासनकै विषयमा बोलिरहेको छु। बैठकभित्र मोबाइल बज्नु हुँदैन।’ उनका अनुसार पार्टीको औपचारिक बैठकमा अनुशासन सबैभन्दा महत्त्वपूर्ण विषय हो।
सम्बोधनका क्रममा ओलीले एमालेभित्र आलोचनात्मक चेत हराएका मानिस मात्रै बस्छन् भन्ने बाहिर फैलाइएको हल्लाप्रति पनि आपत्ति जनाए। ‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा मात्रै बस्छन् भन्ने प्रचार गरिन्छ। खोई त बोलेका? केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने?’ भन्दै उनले यस्ता भ्रमबाट प्रभावित नहुन कार्यकर्तालाई आग्रह गरे।
अध्यक्ष ओलीले निर्वाचनको समयमा प्यानल बनाएर प्रतिस्पर्धा भए पनि अब त्यो अध्याय समाप्त भइसकेको स्पष्ट पारे। ‘हिजो चुनाव लड्दा प्यानल बनाएर लडियो होला, कसैले स्वतन्त्र रूपमा पनि लड्यो होला। त्यो सबै हिजै सकियो,’ उनले भने, ‘अब एमालेको केन्द्रीय कमिटी एकढिक्का छ। यहाँ कुनै प्यानल वा गुट छैन, यो देश हाँक्ने एमालेको साझा नेतृत्व हो।’
उनले पार्टीभित्र एकता, अनुशासन र साझा जिम्मेवारीलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया