काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई आन्तरिक छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आमन्त्रण गरेका हुन्।
बैठकमा पार्टीको आगामी महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समिति गठनलगायत महत्त्वपूर्ण संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेसले पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर उक्त कार्यतालिका व्यवहारिक नभएको भन्दै पार्टीभित्रै यसको कार्यान्वयनप्रति शंका व्यक्त हुँदै आएको छ। हालको कार्यतालिका अनुसार पुस १६ गते वडा अधिवेशन सम्पन्न गरेर पुस २६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने योजना बनाइएको छ।
यद्यपि, निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भइसके पनि अहिलेसम्म विधान मस्यौदा समिति गठन हुन नसकेको अवस्थाले महाधिवेशन तयारीलाई थप जटिल बनाएको छ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया