काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले शुक्रबार बिहान एक युवालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति बारा जिल्लाको सुवर्ण गाउँपालिका–१ निवासी करिब १९ वर्षीय ओम बाबुप्रसाद यादव हुन्। पृथ्वीराजमार्ग अन्तर्गत सवारी साधन चेकजाँचका क्रममा बिहान करिब ३ः१० बजे उनको साथबाट कटुवा पेस्तोल फेला परेको हो।
तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार बारा–कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ नम्बरको बस रोकी जाँच गर्दा यादव शंकास्पद अवस्थामा भेटिएका थिए। त्यसक्रममा उनको साथबाट पेस्तोल बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। यसैबीच, पृथ्वीराजमार्गको मुग्लिन पुल जिप आसपास रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले सवारी साधन चेकजाँचलाई थप कडाइ गरेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया