काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि अझै पनि विभिन्न मुद्दाका खतरा कायमै रहेको भन्दै अन्तिम साससम्म संघर्ष जारी राख्ने अडान व्यक्त गरेका छन्।
शनिबार काठमाडौं फर्किएपछि समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले सरकार परिवर्तन भए पनि आफूमाथि लगाइएका मुद्दाहरू हटिनसकेको र जोखिम अझै नटरेको बताए। जस्तोसुकै घेराबन्दी, दबाब र कानुनी चुनौती आए पनि आफू नझुक्ने उनको स्पष्ट सन्देश थियो।
‘मेरो आवाज कति दिनसम्म बोल्न पाउँछ, म आफैं निश्चित छैन,’ उनले भने, ‘माथि थुप्रै तरबार झुन्डिएका छन्, मुद्दै–मुद्दा बाँकी छन्।’ पुरानो सत्ता ढले पनि त्यसले सिर्जना गरेको कानुनी पासो अझै कायम रहेको उल्लेख गर्दै उनले त्यससँग डराउने कुनै कारण नभएको बताए।
‘अपदस्थ सरकार गयो, तर उसले झुन्ड्याएका मुद्दाहरू अझै मेरो टाउकोमाथि छन्,’ लामिछानेले भने, ‘तर म लड्छु। मलाई लड्न डर छैन। जबसम्म सास रहन्छ, म लडिरहन्छु।’
लामिछानेले आफ्नो संघर्ष कुनै व्यक्तिगत स्वार्थ, पद वा सुविधाका लागि नभएको स्पष्ट पारे। आफू लड्नकै लागि जन्मिएको दाबी गर्दै उनले देश र नयाँ पुस्ताको भविष्यका लागि यो संघर्ष भएको बताए। ‘मलाई व्यक्तिगत रूपमा केही चाहिँदैन, मेरा निजी माग छैनन्,’ उनले भने, ‘मेरो लडाइँ यो देश र यो पुस्ताको न्यायका लागि हो।’
उनले जतिसुकै प्रहार भए पनि पछि नहट्ने र परिवर्तनका लागि निरन्तर अग्रपङ्क्तिमा उभिने प्रतिबद्धता व्यक्त गरे। राजधानी आगमनका क्रममा विमानस्थलमा समर्थकहरूले उनलाई भव्य स्वागत गरेका थिए।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया