काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग भएको छलफलमा उनले निर्वाचनको वातावरण निर्माणका लागि सरकारसँगै राजनीतिक दल र पार्टीका कार्यकर्ताबीच आवश्यक सहकार्य र समन्वय हुनुपर्ने बताए। त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचन सम्भव नहुने उल्लेख गर्दै उनले यसतर्फ सरकारले विशेष पहल गर्नुपर्ने धारणा व्यक्त गरे।
डा. कोइरालाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका करिब पाँच हजार कैदीबन्दी अझै करागार बाहिर रहेको र प्रहरीबाट लुटिएका पाँचदेखि सात हजारसम्म हतियार अहिलेसम्म बरामद नभएकाले आमनागरिकमा त्रासको वातावरण सिर्जना भएको बताए। यस्तो अवस्थामा सरकार, राजनीतिक दल तथा सरोकारवाला सबै निकायले समन्वय गरेर निर्वाचनको अनुकूल वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
उनले नेपाली कांग्रेस एक जिम्मेवार र जनचाहनाअनुरूप सञ्चालन हुने पार्टी भएको उल्लेख गर्दै निर्वाचनसँगै पार्टीको महाधिवेशन सम्पन्न गर्ने तयारीमा पार्टी केन्द्रित रहेको बताए। साथै, निर्वाचन र महाधिवेशनको तयारीसँगै शान्ति सुरक्षा कायम गराउन समन्वयात्मक भूमिका निर्वाह गर्न उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया