काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा सक्रिय भएका छन्।
शुक्रबार रिहा भएका सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ। बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ। पार्टीका प्रवक्ता मनिष झाले बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिएका छन्।
केन्द्रीय समिति बैठकअघि पार्टीका नेता तथा कार्यकर्ताहरूले सभापति लामिछानेलाई स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ।
यसअघि, शुक्रबार रिहा भएका सभापति लामिछानेले शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गरेपछि काठमाडौं फर्केर ‘जेनजी आन्दोलन’का क्रममा सहिद भएका परिवारसँग भेटघाट गरेका थिए।
सहकारी ठगी प्रकरणमा लामिछाने जेल चलान भएपछि डोलप्रसाद अर्याल पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा थिए। लामिछाने रिहा भएसँगै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् रूपमा सक्रिय हुने औपचारिक जानकारी सार्वजनिक गरिसकेको छ।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया