काठमाडौं । जेनजी आन्दोलनको आडमा आफ्नै निवासमा आगजनी हुँदा गम्भीर रूपमा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
भारतमा उपचार गराएर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै चित्रकारले उक्त घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गरिन्। जेनजीको नाम र अवोधपनको मुखुण्डो ओढेर देशलाई विध्वंश गर्ने तत्वहरूलाई सरकारले तत्काल पहिचान गरी कठोर सजाय दिनुपर्ने उनको जोड थियो।
उनले भनिन्, ‘मैले किताबमा मात्रै पढेको हिटलरको ग्यास च्याम्बर मैले आफ्नै जीवनमा भोग्नुपर्यो। जेनजी भाइबहिनीहरूको अवोधपनको मुखुण्डो लगाएर देश नष्ट गर्न खोज्नेहरूलाई यो सरकारले छिट्टै चिनेर कारबाही गर्नुपर्छ। मेरो माग यही हो।’
चित्रकारले जेनजी आन्दोलनको नाममा गरिएको हिंसाले आफूलाई मात्र होइन, समग्र समाजलाई आघात पुर्याएको भन्दै सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाइन्।
यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताए। उपचारलाई अझ अगाडि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले आफूहरूको पीडालाई शब्दमा व्यक्त गर्न कठिन रहेको बताए।
खनालले भने, ‘हामीले अझ धेरै उपचार गर्न बाँकी छ। त्यो उपचारकै अर्को चरण हो। तर जसको शरीरका सबै नसाहरू जलेर खरानीजस्तै बनाइएको छ, त्यस्तो अवस्थामा उपचार कसरी सम्भव हुन्छ ? यो प्रश्न अहिले पनि हामीसँग बाँकी छ।’
गत भदौ महिनामा जेनजी प्रदर्शनका क्रममा डल्लुस्थित खनाल दम्पतीको निवासमा आगजनी गरिएको थियो। उक्त घटनामा रविलक्ष्मी चित्रकार गम्भीर रूपमा घाइते भएकी थिइन् भने घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। उपचारका लागि भारत लगिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले क्रमशः सुधारोन्मुख रहेको बताइएको छ।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया