काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले देशमा जरा गाडेर बसेका पुराना राजनीतिक दलहरूको सिन्डिकेट अन्त्य गर्न सबै वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। बर्दिया जिल्लामा आयोजित पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा वैकल्पिक राजनीतिक धारको मूलधारको पार्टीका रूपमा स्थापित भइसकेको दाबी गरे।
पराजुलीले आगामी निर्वाचनमा बालेन साह, कुलमान घिसिङ र हर्क साम्पाङजस्ता परिवर्तनका प्रतीक पात्रहरूसँग सहकार्य गर्दै अघि बढ्ने पार्टीको योजना रहेको बताए। पार्टी सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि पुराना राजनीतिक दलहरू त्रसित बनेको आरोप लगाउँदै उनले फागुन २१ गते तोकिएको निर्वाचन सार्न षड्यन्त्र भइरहेको दाबीसमेत गरे।
उनले भने, ‘जेन–जी आन्दोलनको भावना र जनताको चाहनालाई सम्बोधन गर्न ताजा जनादेश अपरिहार्य छ। निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ।’
कार्यक्रममा रास्वपाका केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदीले आगामी निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी देशकै पहिलो राजनीतिक शक्ति बन्नेमा कुनै शंका नरहेको बताए। उनले आम नागरिकलाई मत परिवर्तनमार्फत देशको भविष्य बदल्न आह्वान गरे।
सुवेदीले भने, ‘रास्वपा हिंसाको बाटो होइन, मतक्रान्तिमार्फत मुलुकमा सुशासन र समृद्धि स्थापित गर्न दृढ संकल्पित छ।’
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया