फागुन २१ मा निर्वाचन हुन नसके संसद् पुनःस्थापना हुन्छ : प्रवक्ता महत

'निर्वाचनबाट संसद् गठन हुनुपर्छ, यदि अन्तरिम सरकारले त्यो गर्न सक्दैन भने संसद् पुनःस्थापना नै उचित विकल्प हुन्छ,' प्रवक्ता महतले भने, 'वर्तमान परिस्थितिमा यही संवैधानिक निकास देखिन्छ।'



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारले निर्वाचनमार्फत नयाँ संसद् गठन गर्न नसके विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नु नै संवैधानिक विकल्प हुने बताएका छन्।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी संसद् गठन गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे। यदि सरकार त्यसमा असफल भयो भने प्रतिनिधिसभा पुनःस्थापनाको बाटो अवलम्बन गर्नुपर्ने उनको धारणा थियो।

advertisement

‘निर्वाचनबाट संसद् गठन हुनुपर्छ। यदि अन्तरिम सरकारले त्यो गर्न सक्दैन भने संसद् पुनःस्थापना नै उचित विकल्प हुन्छ,’ प्रवक्ता महतले भने, ‘वर्तमान परिस्थितिमा यही संवैधानिक निकास देखिन्छ।’

उनले फागुन २१ गते निर्वाचन हुनैपर्नेमा जोड दिँदै नेपाली कांग्रेस चुनावमा सहभागी हुन पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। जनताबाट प्राप्त जनादेशअनुसार संसद् गठन हुने र त्यस संसद्ले आवश्यक नीति, सुधार तथा संवैधानिक विषयहरू अघि बढाउने विश्वाससमेत उनले व्यक्त गरे।

‘जनताले जुन म्यान्डेट दिन्छन्, त्यही जनभावना संसद्मा अभिव्यक्त हुन्छ,’ उनले भने, ‘त्यस संसद्ले सुधारका एजेन्डा र संवैधानिक विषयहरूलाई अगाडि बढाउँछ।’

प्रवक्ता महतले फागुन २१ मा निर्वाचन हुन नसके देश संसद् पुनःस्थापनाको प्रक्रियामा जान सक्ने चेतावनी दिए। पुनःस्थापित संसद्ले सरकार गठन गर्ने र त्यसपछि चाँडै निर्वाचनको बाटो खोल्ने उनको भनाइ थियो।

‘यदि निर्वाचन भएन भने संसद् पुनःस्थापना हुन्छ। संसद्ले सरकार बनाउँछ र फेरि छिट्टै निर्वाचन गरिन्छ,’ उनले भने, ‘२०८४ सम्म कुर्नुपर्ने अवस्था आउँदैन, २०८३ मै निर्वाचन हुन सक्छ।’

संवैधानिक संरचनामा लामो समयसम्म शून्यता रहनु मुलुकका लागि गम्भीर जोखिम हुने भन्दै उनले चिन्ता व्यक्त गरे। बंगलादेशको पछिल्लो अवस्थाको उदाहरण दिँदै उनले नेपाललाई त्यस्तो अनिश्चितता र उग्रताको बाटोमा जान दिन नहुने बताए।

‘बंगलादेशमा अहिले गहिरो अन्यौल छ, उग्रवाद चरम सीमामा पुगेको छ र निर्वाचन झन् अनिश्चित बन्दै गएको छ,’ उनले भने, ‘नेपालले त्यस्तो परिस्थिति भोग्न नपरोस् भन्नेमा हामी सचेत हुनुपर्छ।’

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com