काठमाडौं । भारतीय नागरिकलाई काठमाडौंका विभिन्न पाँचतारे होटलमा राखी अवैध रूपमा ग्याम्बलिङ गराउने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकालाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ।
प्रहरीले ठमेलस्थित छायाँ सेन्टरको होटल अलोफ्टबाट उक्त गिरोहलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा गिरोहले काठमाडौंका विभिन्न पाँचतारे होटलमा करिब २३० वटा कोठा बुक गरी सोही संख्यामा भारतीय क्यासिनो खेलाडी नेपाल ल्याउने गरेको खुलेको छ। उनीहरूले क्यासिनोभित्र सूचना प्रविधिको दुरुपयोग गर्दै प्रतिबन्धित आर्थिक कारोबार र अवैध जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ।
गिरोहले ‘क्यासिनो इभेन्ट’ को नाममा भारतीय नागरिकलाई काठमाडौं ल्याउने र उनीहरूको हवाई यात्रा, होटल बसाइ तथा खानपानको सम्पूर्ण व्यवस्था निःशुल्क गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। त्यसबाहेक खेल्न आउने ग्राहकका लागि मनोरञ्जन तथा अन्य गैरकानुनी सेवासमेत उपलब्ध गराउने गरेको प्रहरी स्रोतले जनाएको छ।
अलोफ्ट होटलसँगै र्याडिसन, मेरियटलगायतका होटलमा पनि क्यासिनो खेलाडीका लागि कोठा बुक गरिएको थियो। पक्राउ पर्नेमा भारतीय नागरिक सुरेश महाजन, प्रमोद मोरिया, दिनेश बर्मा र विक्रम सिंह रहेका छन्।
यसैगरी, क्यासिनो वाल्डोमा खेल सहजकर्ताका रूपमा कार्यरत नेपाली नागरिक चिजा खड्का र भवानी पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले सेन्सरयुक्त उपकरण प्रयोग गरी नेपालमा प्रतिबन्धित विभिन्न प्रकारका जुवा खेलाउने गरेका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार नेपालको फितलो जुवा ऐनको फाइदा उठाउँदै भारतीय गिरोहले यस्तो अवैध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ।
यस प्रकरणबारे विस्तृत विवरण बुधबार आयोजना गरिने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ। क्यासिनो खेल्न आएका केही भारतीय नागरिकलाई भने सामान्य सोधपुछपछि रिहा गरिएको छ।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया