एजेन्सी । खरायोको मासु भन्दै गाउँलेलाई कुकुरको मासु बिक्री गरेको घटनाले भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा सनसनी मच्चाएको छ। उक्त प्रकरण प्रहरीसम्म पुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गडहिया गाउँका मंगरु सहनी मदिरामा अत्यधिक लिप्त रहने व्यक्ति हुन्। मदिराको लतकै कारण पैसाको अभाव भएपछि उनले गैरकानुनी र अमानवीय उपाय अपनाएको खुलेको छ।
पैसाको जोहो गर्न सहनीले गाउँकै एउटा कुकुरलाई गोप्य रूपमा मारेर त्यसको मासुलाई ‘खरायोको मासु’ भन्दै गाउँलेलाई बिक्री गर्न थाले। उनले प्रतिकिलो एक हजार भारतीय रुपैयाँका दरले कुकुरको मासु बेच्दै आएका थिए। सो रकमबाट उनले मदिरा सेवन गर्नुका साथै केही साथीहरूलाई पार्टीसमेत दिएको बताइएको छ।
भोलिपल्ट मदिराको नशा उतरेपछि भने सहनीले आफैं आफ्नो कुकृत्य स्वीकार गरेको जनाइएको छ। पछि गाउँलेहरूले आफूहरूलाई झुक्याएर कुकुरको मासु खुवाइएको थाहा पाएपछि आक्रोशित हुँदै मंगरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।
गाउँलेहरूले नजिकैको झाडीमा कुकुरको काटिएको टाउको र खुट्टाजस्ता अवशेषसमेत फेला पारेका थिए। ती प्रमाणका आधारमा सहनीविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया