सुर्खेत । पूर्व नवयुवराज हृदयन्द्र शाहको ‘जुम्ला भ्लग’मा देउडा गीत गाएर देशभर चर्चामा आएकी जुम्लाकी पञ्चकली बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सूचीका लागि सिफारिस भएकी छन्। राप्रपाले पञ्चकलीसँगै जानदेवी शर्मा र बसन्ताकुमारी शाहीको नाम पनि समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

गत साउन महिनामा पञ्चकलीले हृदयन्द्र शाहसमक्ष गाएको ‘जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा, कोही सुन्दैनन् कान, कर्णाली रोयाको आवाज’ भन्ने देउडा गीतले जुम्ला र समग्र कर्णालीको पीडा, उपेक्षा र यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो। सोही क्रममा उनले ‘हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ?’ भन्ने प्रश्नसमेत उठाएकी थिइन्।

advertisement

यसको जवाफमा हृदयन्द्र शाहले सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेले नेपाल अवश्य समृद्ध बन्न सक्ने भन्दै आँट र सक्रियता आवश्यक रहेको बताएका थिए। जुम्लाका राप्रपाका एक नेताका अनुसार सोही भ्लग र त्यसबाट प्राप्त प्रेरणाले पञ्चकलीलाई राजनीतितर्फ आकर्षित गरेको र उम्मेदवार सिफारिसमा समेत त्यसको प्रभाव परेको हो।

राप्रपाले पनि उक्त भ्लगमार्फत देशभर चिनिएकी पञ्चकलीको लोकप्रियता, युवा प्रतिनिधित्व र सामाजिक प्रभावलाई आधार मानेर समानुपातिक सूचीमा नाम सिफारिस गरेको बुझिएको छ। पातारासी गाउँपालिका–५ की पञ्चकली बुढा उमेरले २४ वर्षकी मात्र हुन्। ‘जेनजी’ पुस्ताकी प्रतिनिधि र स्थानीयस्तरमा राम्रो परिचय बनाएकी भएकाले पार्टीले उनलाई प्राथमिकतामा राखेको ती नेताले बताए।

यसअघि पञ्चकली जुम्लास्थित रेडियो खुल्ला आकाशमा पत्रकारका रूपमा कार्यरत थिइन्। हाल भने उनले पत्रकारिता छाडिसकेकी छन्। २०७९ सालको निर्वाचनमा उनले ज्ञानेन्द्र शाहीको पक्षमा मत मागेकी थिइन्, तर त्यतिबेला आफू राप्रपामा औपचारिक रूपमा आबद्ध नभएको उनले बताएकी छन्।

उनी राप्रपाको विद्यार्थी संगठनबाट जुम्ला बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा समेत सहभागी भइसकेकी छन्। पञ्चकलीका अनुसार पार्टीबाट उम्मेदवार बन्न प्रस्ताव आएपछि आफ्नो चाहनाअनुसार नाम सिफारिस भएको हो। हाल आफू राप्रपाको कुनै जिम्मेवारीमा नरही साधारण सदस्यको हैसियतमा रहेको उनले स्पष्ट पारेकी छन्।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com