काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई समाजको ‘बोझ’ होइन, ‘बोध’ र ज्ञानको अमूल्य स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमा जोगाउन ज्येष्ठ नागरिकमैत्री पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, सामुदायिक सहयोग र मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरेका छन्। परिवारमा ज्येष्ठ नागरिकको उपस्थितिलाई मूल आधारस्तम्भका रूपमा सम्मान गर्नु नेपाली संस्कृतिको पहिचान भएको उनले बताए।
उनले युवापुस्ताले ज्येष्ठ नागरिकलाई केवल वृद्धका रूपमा होइन, अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतका रूपमा हेर्नुपर्नेमा जोड दिए। ज्येष्ठ नागरिकका विचारलाई सम्मानपूर्वक ग्रहण गर्ने, सामाजिक गतिविधिमा सक्रिय सहभागिता सुनिश्चित गर्ने तथा डिजिटल साक्षरता देखि स्वास्थ्य सेवासम्मको पहुँचमा सहयोग गर्नु आजको आवश्यकता भएको उपराष्ट्रपतिको भनाइ छ।
यसबाट पुस्ताबिचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गर्दै उनले पूर्वीय दर्शनमा ज्येष्ठ नागरिकलाई ‘जीवनको दियो’ का रूपमा मानिने स्मरण गराए। आधुनिकताको नाममा उनीहरूको उपेक्षा गर्नु पारिवारिक तथा सामाजिक मूल्यको पतन भएको उल्लेख गर्दै संस्कृति र आधुनिकताको समन्वयमार्फत ज्येष्ठ नागरिकको गरिमा पुनः स्थापित गर्नु सबैको साझा दायित्व भएको बताए।
उपराष्ट्रपति यादवले वृद्धावस्थालाई जीवनको अन्त्य नभई अनुभव र मार्गदर्शनको उत्कर्ष भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित र सुखमय बनाउन सबैलाई आग्रह गरेका छन्। साथै, उनले ज्येष्ठ नागरिकको सुस्वास्थ्य र सुखद जीवनको कामना पनि व्यक्त गरेका छन्।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार












प्रतिक्रिया