धनगढी । नेकपा (एमाले) परित्याग गरी वैकल्पिक राजनीतिक यात्रामा अघि बढेका नेता प्रकाशबहादुर शाहलाई नेपाली कम्युनिस्ट पार्टीले बाजुराबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
एमाले छाडेपछि शाह भीम रावलको नेतृत्वमा रहेको ‘मातृभूमि जागरण अभियान’मा सक्रिय थिए। उक्त अभियान हाल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेको छ।
सुदूरपश्चिम प्रदेशको राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिने शाह यसअघि बाजुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन्। उनले तत्कालीन नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी समेत सम्हालेका थिए।
प्रदेश सरकारमा रहँदा शाहले करिब चार वर्षसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व गर्दै कार्यसम्पादन गरेका थिए।
यसैबीच, नेपाली कम्युनिस्ट पार्टी बाजुराले प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारका रूपमा शाहलाई अघि सारेको छ भने समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरेको जनाएको छ।
पार्टीले पिछडिएको क्षेत्र क्लस्टरबाट हिक्मतजंग शाही, दलित महिला क्लस्टरबाट बिनिता विक र अपाङ्गता भएका व्यक्ति क्लस्टरबाट सञ्जय कटेललाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
त्यसैगरी, राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि अजबहादुर मल्लको नाम पनि सिफारिस गरिएको पार्टीले जानकारी दिएको छ।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया