काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश आगलागी आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भएका हुन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार यस्ता घटना दैनिक रूपमा हुने गरेका छन्।
हुम्लाको खर्पुनाथ गाउँपालिका–२ मा एक घरमा अचानक आगलागी हुँदा एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। त्यस्तै, मधेस प्रदेशको धनुषा जिल्लास्थित महादेव गाउँपालिका–२ की २२ वर्षीया महिलाको ग्यासमा पानी तताउने क्रममा आगलागीमा परेर मृत्यु भएको हो। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ।
यसैबीच, सुनसरीको भोक्राहा, सप्तरी र महोत्तरीमा आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा तीन महिलाहरू घाइते भएका छन्। रौतहट, पर्सा र दोलखामा पनि आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर एक–एक जना घाइते भएका छन्। भक्तपुरमा भने आगो ताप्ने क्रममा ११ वर्षीया बालिका घाइते भएकी छिन्।
प्राधिकरणले जाडो मौसममा आगो ताप्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार












प्रतिक्रिया