काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सहमतिपछि भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाका योजनाकार र मतियार क्रमशः सार्वजनिक हुन थालेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले भदौ २३ र २४ का घटनालाई नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको संज्ञा दिएका छन्।

advertisement

उनका अनुसार भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा हिंसात्मक मुठभेडमा परिणत गरियो, जसका कारण केही युवाले ज्यान गुमाए। त्यसकै आडमा भदौ २४ गते राज्य, संविधान र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गर्दै मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने प्रयास भएको उनले आरोप लगाए।

‘यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने तथ्य अब क्रमशः बाहिरिँदै छ,’ पोखरेलले लेखेका छन्। ‘भदौ २३ र २४ का घटनाहरू भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थिए। अब त्यही षड्यन्त्रको दोस्रो चरणको तयारीसमेत सुरु हुँदैछ।’

यस्तो गम्भीर परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षा गर्ने देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको पोखरेलको भनाइ छ। नेपाललाई भूराजनीतिक द्वन्द्वको केन्द्र बन्नबाट जोगाउन सबै पक्षले जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com