विराटनगर । गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार राति मोरङमा गोली चलाएको छ। केराबारी गाउँपालिका–५ स्थित लाफा टोलमा राति करिब ११ बजे प्रहरीले गोली चलाउँदै एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गाँजा लोड गरिएको एम्बुलेन्स रोक्न खोज्दा सवार व्यक्ति फरार हुन खोजेपछि एक राउण्ड हवाई फायर गर्नुपरेको थियो। घटनापछि प्रहरीले एम्बुलेन्सभित्र लुकाइछिपाइ राखिएको १६ पोका गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। यससँगै आपतकालीन सेवाका लागि प्रयोग हुने एम्बुलेन्सलाई लागुऔषध ओसारपसारमा दुरुपयोग गरिएको गम्भीर घटना सार्वजनिक भएको छ।
धनकुटाबाट मोरङतर्फ एम्बुलेन्समार्फत गाँजा ल्याइँदैछ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोली परिचालन गरिएको थियो। इन्स्पेक्टर राजीव गिरी र असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा खटिएको टोलीले प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई केराबारी–५ लाफा टोलमा रोक्न खोजेको थियो।
प्रहरीलाई देख्नासाथ एम्बुलेन्समा सवार व्यक्तिहरू भाग्न खोजेपछि नियन्त्रणका क्रममा असई तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। उनका अनुसार प्रहरीले भाग्न खोजेका दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको छ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय एम्बुलेन्स चालक निश्चल राई र साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उक्त एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा दर्ता भई सञ्चालनमा रहेको खुलेको छ।
एम्बुलेन्सको खानतलासी गर्दा १६ वटा पोकामा प्याक गरिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल लिने काम बाँकी रहे पनि करिब ४ सय ८० किलोभन्दा बढी हुनसक्ने प्रहरीको अनुमान छ। गाँजा धनकुटाबाट मोरङ हुँदै भारततर्फ तस्करी गर्ने प्रयास भएको हुनसक्ने आशंका गरिएको छ।
नियन्त्रणमा लिइएको एम्बुलेन्स, बरामद गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
एसपी कटवालले बिरामी बोक्न प्रयोग गरिने संवेदनशील साधन एम्बुलेन्सलाई लागुऔषध तस्करीमा प्रयोग गर्नु गम्भीर अपराध भएको उल्लेख गर्दै यसले तस्करहरू संगठित रूपमा सक्रिय रहेको संकेत गर्ने बताए। उनले गाँजा तथा अन्य लागुऔषधको ओसारपसार नियन्त्रणका लागि प्रहरीले कडा अभियान सञ्चालन गरिरहेको र संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।
यसअघि पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा शनिबार राति प्रहरीले हवाई फायर गर्दै गाँजा तस्करीमा संलग्न दुई भारतीय नागरिक—२४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान—लाई पक्राउ गरेको थियो। उक्त स्थानबाट प्रहरीले ३ सय ३० किलो गाँजा बरामद गरेको जनाएको छ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार












प्रतिक्रिया