काठमाडौं । जेन–जी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्। सोमबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर गुरुङले वाग्लेसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्।

भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै गुरुङले आफूहरू वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकीकृत गर्ने पहलमा सक्रिय रहेको बताए। उनले देशमा नयाँ र प्रभावकारी राजनीतिक शक्ति निर्माणका लागि साझा सोच भएका नेतृत्वहरू एकै ठाउँमा आउनुपर्ने आवश्यकता औंल्याए।

advertisement

गुरुङले रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा क्षेत्रमा चिनिएका कुलमान घिसिङ एउटै मोर्चामा उभिनुपर्ने धारणा राखे। ‘मेरो मुख्य चाहना भनेको कुलमान, बालेन र रवि लामिछाने सबै जना एउटै ठाउँमा आएर नयाँ शक्ति निर्माण गर्नु हो,’ उनले भने, ‘वैकल्पिक शक्तिलाई बलियो बनाउन उनीहरूलाई एक ठाउँमा ल्याउने प्रयासमा हामी लागिरहेका छौँ।’

कुलमान घिसिङसँगको संवादबारे सोधिएको प्रश्नमा गुरुङले छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताए। केही विषयमा विचार मिल्न बाँकी रहे पनि समयक्रममा सहमति जुट्ने विश्वास व्यक्त गरे। उपसभापति वाग्लेसँगको भेटवार्ता पनि सकारात्मक रहेको उनको भनाइ थियो।

यसै क्रममा रास्वपामा प्रवेश गर्ने तयारी गरिएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा गुरुङले तत्काल कुनै निर्णय नलिएको स्पष्ट पारे। ‘अहिले त्यस्तो कुनै ठोस निर्णय बनाइसकेका छैनौँ, समयले नै यसको उत्तर दिनेछ,’ उनले भने।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com