काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न असफल भएको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित मोरङ समाज काठमाडौंको २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नका रूपमा उभिएको बताए।

advertisement

सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसके पनि मुलुकको शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुन्छ कि हुँदैन भन्नेमा आशंका रहेको कोइरालाको भनाइ थियो। उनले नेपाली कांग्रेस निर्वाचन प्रक्रियाबाट कहिल्यै नभाग्ने तर हार स्वीकार गर्न तयार लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै सरकारले त्यसअनुकूल वातावरण तयार गर्नुपर्नेमा जोड दिए।

नेता कोइरालाले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी प्रहरी प्रशासनकै भएको उल्लेख गर्दै हाल सुरक्षाकर्मीहरूको मनोबल अत्यन्तै खस्किएको बताए।

उनले २३ भदौमा जेनजी आन्दोलनमाथि भएको प्रहरी दमनको कडा आलोचना गर्दै त्यसको निन्दा जतिसुकै गरे पनि कम हुने धारणा राखे। तर २४ भदौमा भएको तोडफोड र विध्वंशलाई सामान्य रूपमा लिन नहुने भन्दै उनले सिंहदरबारजस्ता मुख्य प्रशासनिक केन्द्रदेखि प्रदेशस्तरीय संरचना र नेताहरूका निजी निवाससमेत ध्वस्त पारिएको प्रसंग उठाए। यति ठूलो क्षति केवल जेनजी आन्दोलनकर्ताहरूले केही घण्टामै गर्न नसक्ने उनको टिप्पणी थियो।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com