काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा होहल्ला मच्चाउने व्यक्तिहरूलाई नै राष्ट्रका मुक्तिदाताका रूपमा प्रस्तुत गर्ने भ्रम फैलाउने प्रयास भइरहेको टिप्पणी गरेका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले दशकौँसम्म त्याग, तपस्या, विचार र निष्ठाको मार्ग अपनाएका नेताहरूलाई बदनाम गर्ने सुनियोजित प्रयास भइरहेको बताए।

advertisement

उनका अनुसार विचार, इतिहास, त्याग र बलिदानसँग कुनै सरोकार नराख्ने केही समूहले सामाजिक सञ्जालमार्फत नेपाल पूरै आफ्नो नियन्त्रणमा आएको जस्तो भ्रम सिर्जना गर्न खोजिरहेका छन्। तर, सहर–बजारमा फैलाइने चर्चा र हल्लाजस्तो अवस्था देशमा नरहेको उनको दाबी छ।

प्रचण्डले जनतामा अहिले पनि नेकपा र पार्टी एकताप्रति सकारात्मक भावना कायमै रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो प्रतिकूल परिस्थिति नरहेको जिकिर गरे। उनले सूचना प्रविधिको पहुँच र प्रभाव प्रतिक्रियावादी शक्तिहरूको हातमा रहेकाले सामाजिक सञ्जाल उनीहरूको चाहनाअनुसार प्रयोग भइरहेको बताए।

सामाजिक सञ्जालको हल्लाका भरमा नेपाल ‘कब्जा’ गरेको ठान्ने शक्तिहरूविरुद्ध जनता एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा रुकुम पूर्वदेखि काठमाडौँसम्म राष्ट्रको झण्डा, कम्युनिस्ट पार्टीको झण्डा र नेकपाको चुनाव चिह्न ‘तारा’ बोकेर पैदल यात्रा पूरा गरेका नेता केशव रावलले संयोजक प्रचण्ड र नेता माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com