काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जेनजी आन्दोलनका नाममा देशमा आगजनी र विध्वंश मच्चाउने समूहहरूसँग कांग्रेसलाई कुनै डर नरहेको स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौँमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विश्वकर्माले समाजमा वास्तविक खतरा उग्र र धृष्ट शक्तिबाट भन्दा पनि सज्जन र सचेत नागरिकको मौनताबाट पैदा हुने धारणा व्यक्त गरे।
उनले देश जलाउने प्रवृत्ति बोकेका र ठगीमार्फत पपुलिजमको खेती गर्नेहरूसँग डर मान्नुपर्ने अवस्था नरहेको बताए। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतजस्ता राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्ने तथा नेपालका लोकतान्त्रिक आन्दोलनका धरोहरहरूमा क्षति पुर्याउने गतिविधिहरू क्षणिक र टिकाउ नहुने उनको भनाइ थियो।
विश्वकर्माले भने, ‘नेपालमा पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई समूल नष्ट गर्ने कुनै अभियानको औजार हामी स्वयं त बन्दै गइरहेका छैनौँ भन्ने प्रश्न आत्मसमीक्षाको विषय हो।’
उनले थपे, ‘समाजमा खतरा दुष्टको धृष्टताबाट होइन, सज्जनको निष्क्रियताबाट उत्पन्न हुन्छ। आज देश जलाउने लुसिफरहरूबाट हामीलाई डर छैन। ठगी गरेर पपुलिजमको खेती गर्नेहरूसँग पनि खासै भय छैन। विभिन्न नाटक मञ्चन गर्दै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र लोकतन्त्रका प्रतीकहरूमाथि आक्रमण गर्ने प्रवृत्ति क्षणिक हुन्छ।’
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार













प्रतिक्रिया