काठमाडौं । आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये केवल २२ दलले मात्रै सबै ११० स्थानमा उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगमा पुस १३ र १४ गते पेस गरिएका बन्दसूचीअनुसार ६४ दलले सूची बुझाए पनि २२ दलले मात्र समानुपातिकतर्फको सम्पूर्ण ११० सिटमा उम्मेदवार मनोनयन गरेका हुन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ वटा निर्वाचन चिह्नमार्फत उम्मेदवारी दिएका छन्।

advertisement

सबै ११० स्थानमा उम्मेदवारी दिने दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रहेका छन्।

यसैगरी नेपाली जनता दल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि सबै स्थानमा उम्मेदवारी दिएका छन्। केही दलहरूले साझा निर्वाचन चिह्न कायम गरी संयुक्त रूपमा ११० स्थानको बन्दसूची बुझाएका छन्। आयोगका अनुसार औसतमा प्रति निर्वाचन चिह्न उम्मेदवारी दिने दलको सङ्ख्या ६० रहेको छ भने न्यूनतम ११ स्थानमा मात्र बन्दसूची पेस गर्ने दल १० वटा छन्। एकल निर्वाचन चिह्न प्रयोग गर्ने दलको सङ्ख्या पनि १० रहेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा २०७८ सालको जनगणनाअनुसार समावेशी समूहको जनसङ्ख्या प्रतिशतका आधारमा दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका हुन्। कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले बन्दसूची बुझाउने प्रक्रिया सोमबार रातिसम्म चलेको आयोगले जनाएको छ। समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिन ९३ दलले आवेदन दिएको भए पनि अन्ततः ६४ दलले मात्र बन्दसूची पेस गरेका हुन्।

प्राप्त बन्दसूचीको छानबिन पुस १५ देखि २० गतेसम्म गरिने आयोगले जनाएको छ। छानबिनपछि सच्याउनुपर्ने वा अपुग विवरण भएमा पुस २१ देखि २७ गतेसम्म दललाई सच्याउने समय दिइनेछ। पुस २८ देखि माघ ३ गतेसम्म सच्याइएका सूचीको पुनः जाँच गरिनेछ भने अन्तिम बन्दसूची आगामी माघ २० गते प्रकाशन हुनेछ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ मा २०६८ सालको जनगणनाका आधारमा समावेशी समूहको प्रतिशत उल्लेख रहे पनि यसपटक समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत २०७८ को जनगणनाअनुसारको जनसङ्ख्या प्रतिशतका आधारमा उम्मेदवार सूची पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ र सोही दिन प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। माघ ७ गते उम्मेदवारीविरुद्ध उजुरी दिने समय तोकिएको छ। माघ ८ गते अन्तिम नामावली प्रकाशन हुनेछ भने माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम सूची प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।

मतपत्र छपाइको तयारी सुरु

उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएसँगै निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक करिब चार करोड थान मतपत्र छपाइको तयारी पनि अघि बढाएको छ। आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू, उच्च अधिकारी तथा सम्बन्धित शाखाका कर्मचारीबीच आज बैठक बसेर मतपत्रको सम्भावित ढाँचा, आकार र डिजाइनबारे छलफल गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com