काठमाडौं । प्रहरी बनेर ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका बस्ने ३७ वर्षीय आकाश भनिने नानी बाबु लामा र दोलखा घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ३४ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले काठमाडौंका विभिन्न औषधि पसलमा गई आफूहरू लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएका प्रहरी भएको दाबी गर्दै खानतलासी गर्ने गरेका थिए । खानतलासीको क्रममा औषधि व्यवसायीलाई लागू औषध तथा अवैध औषधि बिक्री गरेको आरोप लगाई नियन्त्रणमा लिने धम्की दिँदै डर–त्रास देखाएर रकम असुल्ने गरेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उनीहरू यसरी पसल–पसलमा गई ठगी गर्ने कार्यमा संलग्न थिए ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ स्थित एक औषधि पसलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार












प्रतिक्रिया