विराटनगर । सुनसरीमा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। तस्करी नियन्त्रणका लागि खटिएको एपीएफ टोलीको फायरिङमा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको ज्यान गएको हो।
घटना बुधबार राति करिब १ः१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार साह सोही वडाका स्थायी बासिन्दा हुन्।
गोली लागेर साहको मृत्यु भएपछि स्थानीयले शव उठाउन नदिँदै घटनास्थलमै प्रदर्शन गरिरहेका छन्। स्थिति तनावग्रस्त बनेको छ।
प्रारम्भिक विवरणअनुसार साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै थिए। सवारी चलाइरहेका बेला उनीमाथि गोली प्रहार भएको बताइएको छ। मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो। स्थानीयवासीले भने लेनदेनसम्बन्धी विवादकै कारण गोली हानिएको दाबी गर्दै विरोध जनाएका छन्।
हाल घटनास्थलमा प्रहरी उपस्थित भई कानुनी प्रक्रिया पूरा गर्ने क्रममा मुचुल्का उठाउने काम भइरहेको छ।
यसैबीच, सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करीमा संलग्न समूहसँग दोहोरो गोली हानाहान भएको र त्यसक्रममा एक जनाको मृत्यु भएको दाबी गरेका छन्। ‘चोरीको सामान बोकेको सवारी रोक्न खोज्दा उनीहरूतर्फबाट गोली प्रहार भयो,’ डीआईजी न्यौपानेले भने, ‘एपीएफले आत्मरक्षाका लागि जवाफी फायरिङ गरेको हो।’
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया