काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा समावेश पर्वतारोही टासी लाक्पा शेर्पाले आफ्नो नाम फिर्ता लिन चाहेको बताएका छन्। दलगत राजनीतिमा संलग्न हुने रुचि नरहेको जनाउँदै उनले उम्मेदवार सिफारिसबाट नाम हटाइदिन आग्रह गरेका हुन्।
फोर्टिन पिक्स एक्सपिडिसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका टासीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ नाम छनोट गरिएकोमा धन्यवाद व्यक्त गरेका छन्। तर, आफू राजनीतिक दलको सक्रिय सदस्य बन्ने इच्छामा नरहेकाले सूचीबाट नाम फिर्ता लिन चाहेको स्पष्ट पारेका छन्।
उनले लेखेका छन्, ‘म सधैं आफ्नो देशको प्रगतिका लागि आफ्नै तरिकाले योगदान गर्न प्रतिबद्ध छु। साधारण नागरिकको हैसियतमा, आफ्नै कर्ममार्फत् राष्ट्रसेवामा लागिरहनेछु।’ साथै, उनले आगामी निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई सफलताको शुभकामना दिएका छन्।
टासी प्रसिद्ध पर्वतारोही मिङ्मा शेर्पाका भाइ हुन्। मिङ्मा केही दिनअघि औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका थिए। दाजुको पार्टी प्रवेश र सम्बोधनको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै टासीले उनको राजनीतिक यात्राका लागि शुभेच्छा पनि व्यक्त गरेका थिए।
यसैबीच, रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा नातावाद, कृपावाद र परिवारवाद हावी भएको आरोप लाग्दै आएको छ। पार्टीभित्रैबाट समेत आलोचना चुलिएपछि सभापति रवि लामिछानेले ती कमजोरी सच्याइने प्रतिबद्धता जनाइसकेका छन्।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया