काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सहमति नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीसहित बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्म सम्झौता टुंग्याउने समय मागेको जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री कार्कीले आइतबारसम्म सम्झौतामा हस्ताक्षर गरी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट त्यसको कार्यान्वयन गर्ने निर्णय गर्ने प्रतिबद्धता जनाएकी छन्। तर सरकारले गम्भीरता नदेखाए आन्दोलनमा उत्रन बाध्य हुने उनले स्पष्ट पारे।
‘सरकारले आइतबारसम्म सम्झौता गरेन भने हामी आन्दोलन सुरु गर्छौं,’ प्रसाईंले भने, ‘त्यस क्रममा लघुवित्त, सहकारी र बैंकहरूलाई गाउँ–गाउँबाट लखेट्नेछौं।’
उनले आगामी फागुन २१ गते हुने निर्वाचनसमेत अवरोध गर्ने चेतावनी दिएका छन्। आफ्ना मागहरू समाधानका लागि जनमत संग्रहमार्फत लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह गरेको भए पनि सहमति नभए संघर्षको बाटो रोज्ने उनको भनाइ छ।
‘हामी विद्रोहमा जान चाहँदैनौं,’ प्रसाईंले भने, ‘तर आइतबारसम्म सम्झौता भएन भने गाउँस्तरबाटै लघुवित्त, सहकारी र बैंकविरुद्ध आन्दोलन सुरु हुन्छ।’
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया