काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित प्रश्नावली पठाएको छ। भदौ २३ र २४ गते सम्पन्न जेन–जी प्रदर्शनका क्रममा उच्छृङ्खल समूहले दुवै नेताको निवासमा आगजनी गरेका थिए।
शान्तिपूर्ण प्रदर्शनका क्रममा किशोरहरूको ज्यान जाने अवस्था सिर्जना भएको घटनाको विस्तृत छानबिन गरिरहेको आयोगले बयानकै शैलीमा प्रश्न पठाएको आयोगका एक पदाधिकारीले जानकारी दिए। उनका अनुसार दुवै नेतालाई लिखित रूपमा प्रश्नावली पठाइसकिएको छ।
न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउन पत्राचार गर्ने तयारी पनि गरेको छ। आयोगका एक पदाधिकारीका अनुसार शुक्रबार साँझसम्म ओलीलाई उपस्थित हुन पत्र पठाइनेछ।
यसैबीच, आयोगले उपत्यका छाड्न तथा विदेश भ्रमणमा रोक लगाइएका पाँच जनाको स्थानहद फुकुवा गरेको छ। स्थानहद फुकुवा हुनेमा तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा रहेका छन्।
तर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको उपत्यका बाहिर जान नपाउने र विदेश भ्रमणमा रोक लगाउने निर्णय भने कायमै रहेको आयोगले जनाएको छ।
आयोगले हालसम्म १५० जनाभन्दा बढी व्यक्तिसँग बयान लिइसकेको छ। तीमध्ये केहीबाट घटनाविवरण कागजसमेत गराइएको छ। घटनास्थलका प्रत्यक्षदर्शीहरू र केही मृतकका परिवारसँग पनि विस्तृत विवरण संकलन गरिएको आयोगका एक सदस्यले बताए।
छानबिनका क्रममा आयोगले प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिएको छ। साथै, जेन–जी आन्दोलनका बेला सशस्त्र प्रहरीको कार्य विभागको नेतृत्व गरेका एआईजी नारायणदत्त पौडेल, सशस्त्रका डीआईजी सुरेश श्रेष्ठ, नेपाल प्रहरीका डीआईजी ओम राना तथा एआईजी सिद्धिविक्रम शाहलगायत वरिष्ठ अधिकृतहरूसँग पनि बयान लिइएको छ।
त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपी अपिल बोहरा र कुलदीप चन्दसँग समेत आयोगले बयान लिइसकेको जनाएको छ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया