सुनसरी। सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ निवासी ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बलले आन्तरिक छानबिन समिति गठन गरेको छ।
सशस्त्र प्रहरी बलले छानबिनका लागि एसएसपी रविनराज कर्णजीतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा कोशी प्रदेशको नं. १ बराह बाहिनी मुख्यालयका एसपी र सशस्त्र प्रहरी बलको कानुन महाशाखाका एक डीएसपी सदस्य रहेका छन्। समितिले घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन पेश गरेपछि गल्ती देखिएमा विभागीय कारबाही अगाडि बढाइने सशस्त्र प्रहरी बलले जनाएको छ।
स्रोतका अनुसार छानबिनको क्रममा बोर्डर आउट पोस्ट (बीओपी) कमाण्डर, गुल्म कमाण्डर र गण कमाण्डरलाई बाहिनीबाट हटाएर छानबिन अघि बढाइएको छ। यसमा लौकही बीओपीका कमाण्डर इन्स्पेक्टर मनिष कुमार कटुवाल, सीमा सुरक्षा गुल्म हरिपुरका कमाण्डर डीएसपी गणेश दत्त पाण्डे, र नं. ४ गण सुनसरीका कमाण्डर एसपी निर्मल कुमार थापा छन्।
बुधबार मध्यराति सशस्त्र प्रहरीले गोली चलाउँदा विजय साहको मृत्यु भएको थियो। घटना त्यस बेला भएको हो जब लौकही नाकाबाट तीन वटा अटो रिक्सा (२ वटा अटो र १ ई–रिक्सा) चिनी लिएर नेपाल प्रवेश गर्दै थिए। सशस्त्र प्रहरीको भनाइ अनुसार, रिक्साहरूको पछ्याइँ गर्दा तस्करीको समूहले पहिला गोली हानेको थियो र सुरक्षाकर्मीले आत्मरक्षाका लागि जवाफी गोली चलाएको दाबी गरिएको छ।
सोही क्रममा फिल्ड कमाण्डर हवल्दार नवराज खतिवडालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बोलाइएको थियो। उनले बिहीबारदेखि प्रहरी कार्यालयमा उपस्थित भई सोधपुछ सकिएको छ।
सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी डीआईजी कुमार न्यौपानेका अनुसार, तस्करीको समूहबाट गोली चलेपछि सुरक्षा बलले असुरक्षित महसुस गरी जवाफी फायर गर्दा दुर्घटना भएको हो।
घटनापछि मृतक पक्ष र प्रशासनबीच सीडीओ कार्यालयमा सहमति भएको थियो। दुई पक्षबीच पाँच बुँदे सहमति भएको र शव आफन्तले बुझिसकेका छन्।
स्रोतका अनुसार, छानबिन समितिले घटनाको जिम्मेवारी र आवश्यक कारबाहीका सिफारिससहित प्रतिवेदन पेश गर्नेछ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया