काठमाडौं । नेकपा (एमाले)ले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा मिलन गुरुङको नाम सिफारिस गरेको छ। ‘चक्रे मिलन’ नामले परिचित गुरुङलाई क्षेत्रीय कमिटीले शुक्रबार सर्वसम्मत रूपमा सिफारिस गरेको हो।
युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा गोरखाका युवा नेता प्रविण अधिकारीका अनुसार, गोरखा क्षेत्रीय कमिटीले स्थानीय युवाहरूको व्यापक माग र अपेक्षालाई मध्यनजर गर्दै गुरुङको नाम अघि सारेको हो। उनले निस्वार्थ रूपमा राजनीति र समाजसेवामा सक्रिय व्यक्तिलाई गोरखाले खुलेर स्वागत गर्ने बताए।
‘आज गोरखाका मात्र होइन, नवयुवा पुस्तासमेतको साझा उम्मेदवारका रूपमा मिलन गुरुङलाई हेरिएको छ,’ अधिकारीले भने, ‘युवाहरूको वास्तविक आवाज संसद्सम्म पुर्याउन सक्ने सक्षम नेतृत्व उनी हुन्।’
मिलन गुरुङ देशभर ‘चक्रे मिलन’ नामले चिनिन्छन्। उनी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको दाबी गर्दै आएका छन्। विगतमा विभिन्न आरोप लगाएर आफूलाई बदनाम गर्ने प्रयास भए पनि आफू साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको उनले बताउँदै आएका छन्।
उम्मेदवारी सिफारिसपछि प्रतिक्रिया दिँदै गुरुङले राजनीतिमा प्रवेश व्यक्तिगत इच्छाभन्दा पनि स्थानीय जनसमुदाय, विशेषतः युवा र नवयुवा पुस्ताको निरन्तर आग्रह र दबाबका कारण भएको स्पष्ट पारे। ‘समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था सिर्जना गरियो,’ भन्दै उनले विगतमा आफूमाथि गरिएको आरोपप्रति गुनासो व्यक्त गरे।
गुरुङका अनुसार उनी २०५० सालदेखि नै नेकपा (एमाले)को राजनीतिमा सक्रिय छन्। समाजका विभिन्न क्षेत्रमा गरेको योगदानका कारण गोरखाली जनताले आफूलाई विजयी गराएर संसद्मा पठाउनेमा उनी विश्वस्त देखिन्छन्।
डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रका रूपमा चिनिने गोरखा–२ बाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए। यसपटक उक्त क्षेत्रमा जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले पनि निर्वाचन लड्ने चर्चा छ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया