काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेमै समाप्त भइसकेको दाबी गरेका छन्।
शुक्रबार पार्टीको कार्यसम्पादन समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुगेका निधिले सञ्चारकर्मीसँग कुरा गर्दै नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि विशेष महाधिवेशनको कुनै आवश्यकता नरहेको स्पष्ट पारे। ‘विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेमै सकिएको हो,’ उनले भने।
विशेष महाधिवेशनका लागि हल बुक भइसकेको र कार्यक्रम निश्चित भइसकेको भनाइबारे पत्रकारले जिज्ञासा राख्दा निधिले छोटो प्रतिक्रिया दिँदै भने, ‘कसले भन्छ हुन्छ भनेर? हुँदैन।’
निधिले पार्टी अहिले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको पनि बताए। तर पार्टीभित्र देखिएको आन्तरिक विवादका बारेमा कसरी अघि बढ्ने भन्ने प्रश्नमा भने उनले कुनै प्रतिक्रिया दिन चाहेनन्।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया