काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक हवाई उडानतर्फ लाग्ने इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि त्यसको प्रभावस्वरूप प्राधिकरणले नयाँ सरचार्ज दर समायोजन गरेको हो।
नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि क्यानले शुक्रबारदेखि लागू हुने गरी नयाँ इन्धन शुल्क निर्धारण गरेको जनाएको छ। यससँगै आन्तरिक उडानमा लागू हुने अधिकतम हवाई भाडा दरमा समेत कमी आएको छ।
प्राधिकरणका अनुसार ट्रंक रुटका लागि प्रतिमिनेट ६८ रुपैयाँ ०९ पैसा र दुर्गम क्षेत्रका उडानका लागि प्रतिमिनेट ४८ रुपैयाँ ६४ पैसा इन्धन शुल्क कायम गरिएको छ।
कुन रुटमा कति घट्यो भाडा?
नयाँ भाडादरअनुसार काठमाडौँबाट हुने उडानमध्ये सबैभन्दा बढी धनगढी रुटमा २६५ रुपैयाँले भाडा घटेको छ भने सबैभन्दा कम सिमरा रुटमा ५५ रुपैयाँले कमी आएको छ। काठमाडौँबाट उडान हुने विभिन्न गन्तव्यमा फ्युल सरचार्ज यस प्रकारले घटाइएको छ।
यस बाहेक माउन्टेन फ्लाइटमा २१० रुपैयाँ, काठमाडौँ–लुक्ला ८० रुपैयाँ, काठमाडौँ–जोमसोम १२० रुपैयाँ, काठमाडौँ–फाप्लु ७० रुपैयाँ, काठमाडौँ–जुम्ला १९० रुपैयाँ तथा नेपालगन्ज–सिमिकोट रुटमा १२० रुपैयाँ फ्युल सरचार्ज समायोजन गरिएको छ।
तत्काल भाडामा प्रत्यक्ष असर नपर्ने
यद्यपि इन्धन शुल्क घटाइए पनि यात्रुले तिर्ने हालको भाडादरमा तत्काल प्रत्यक्ष असर नपर्ने प्राधिकरणले स्पष्ट पारेको छ। हाल एयरलाइन्स कम्पनीहरूले लिँदै आएको भाडा अधिकतम भाडा दरभन्दा धेरै कम रहेको छ।
उदाहरणका लागि, काठमाडौँ–धनगढी उडानको अधिकतम भाडा १७ हजार रुपैयाँभन्दा बढी भए पनि अहिले यात्रुले करिब ८ हजार रुपैयाँ हाराहारीमा टिकट पाइरहेका छन्। त्यसैले तत्काल भाडामा खासै प्रभाव नदेखिए पनि यात्रुको चाप बढी हुने समयमा भाडाको माथिल्लो सीमा कायम गर्न भने यसले सहयोग पुग्ने प्राधिकरणको भनाइ छ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया