काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसूचीमा उज्यालो नेपाल पार्टीको कोटाबाट परेकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेकी छन्।
सो निर्णय उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै आफूलाई पार्टीले समानुपातिक प्रतिनिधित्वका लागि सिफारिस गर्नु सम्मान र जिम्मेवारीको विषय भएको बताइन्। तर गहिरो आत्ममूल्यांकनपछि आफ्नो पेशागत जिम्मेवारी र दीर्घकालीन सामाजिक योगदानलाई प्राथमिकता दिने उद्देश्यले राजनीतिमा सहभागी नहुने निर्णय लिएको स्पष्ट पारेकी छन्।
डा. गुरुङले लेखेकी छन्, ‘यो निर्णय कुनै असन्तुष्टि वा अस्वीकारको परिणाम होइन। कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने मेरो दृढ संकल्प नै यस निर्णयको मुख्य कारण हो।’
उनले पार्टी नेतृत्वले देखाएको विश्वास, सम्मान र समर्थनप्रति आभार व्यक्त गर्दै त्यो भरोसा कहिल्यै कमजोर नहुने प्रतिबद्धता व्यक्त गरेकी छन्। राजनीतिक पदमा नरहे पनि समाज, स्वास्थ्य र समुदायको आवाजका रूपमा सक्रिय रहने उनको भनाइ छ। उनले पार्टीको भावी यात्राका लागि शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक अभ्यास र समावेशी प्रतिनिधित्वको प्रयास सफल होस् भन्ने कामना गरेकी छन्।
डा. गुरुङको नाम रास्वपाको बन्दसूचीमा १९ नम्बरमा रहेको छ भने आदिवासी–जनजाति वर्गका महिलामध्ये पाँचौं स्थानमा उनी परेकी थिइन्। यसअघि बन्दसूचीमा आदिवासी–जनजाति वर्गका ९ नम्बरमा रहेको टासी लाक्पा शेर्पाले पनि आफू दलगत राजनीतिमा रुचि नराख्ने भन्दै नाम फिर्ता लिएको घोषणा गरिसकेका छन्।
डा. गुरुङले फेसबुकमा लेखेकी छन्, ‘म दलगत राजनीतिमा सक्रिय नभएको कारण आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहन्छु। आगामी निर्वाचनमा सबै राजनीतिक दल र योग्य उम्मेदवारहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु। म सधैं आफ्नो देशको उन्नतिका लागि आफ्नै तरिकाले योगदान दिनेछु र एक साधारण नागरिकको रूपमा देशको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता राख्छु।’
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया