काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) बीच चुनावी मोर्चाबन्दी बन्न सक्ने संकेत दिएका छन्।

एमाले लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सम्भावित एकतापछि पुराना दलहरूबीच पनि चुनावी गठबन्धनबारे गम्भीर छलफल सुरु भएको बताएका हुन्।

advertisement

उनका अनुसार प्रारम्भिक चरणमै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद भइरहेको छ। “यो छलफलमा नेकपा पनि जोडिएको छ। आवश्यक परे प्रचण्ड नेतृत्वको नेकपालाई समेत समेटेर अघि बढ्ने सम्भावना छ,” गुरुङले भने।

उपाध्यक्ष गुरुङले सम्भावित मोर्चाबन्दीमा कांग्रेस र एमालेले अघिल्ला निर्वाचनमा जितेका आफ्ना–आफ्ना क्षेत्रमा दाबी कायम राख्ने र बाँकी क्षेत्रमा सहमतिका आधारमा सिट बाँडफाँट हुन सक्ने बताए। यदि नेकपालाई पनि गठबन्धनमा समेट्नुपर्ने अवस्था आएमा कांग्रेस र एमालेले ७०/७० सिट लिने र बाँकी २५ सिट नेकपालाई दिन सकिने उनको दाबी छ।

उनको यो अभिव्यक्तिलाई आगामी निर्वाचनलाई लक्षित गर्दै पुराना दलहरूबीच शक्ति सन्तुलन र रणनीतिक गठबन्धनको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com