काठमाडौं । नेकपा एमाले लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम टुंगो लगाउँदै केन्द्रमा सिफारिस पठाएको छ।
शनिबार बेंसीशहरस्थित पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको दशौं बैठकले सर्वसम्मत रूपमा ६ जना नेताहरूको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिस सूचीको अग्रस्थानमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन्।
उनीसँगै एमाले केन्द्रीय सदस्यहरू जमीन्द्रमान घले, कृष्णप्रसाद अधिकारी र भगवती थापा (कल्पना) को नाम पनि सिफारिस गरिएको छ।
यसैगरी, पार्टीको गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी र प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मीदेवी अधिकारीलाई पनि उम्मेदवारका रूपमा अघि सारिएको छ।
सिफारिसमा परेका नेताहरूको राजनीतिक पृष्ठभूमि र अनुभवलाई आधार मानिएको छ। पृथ्वीसुब्बा गुरुङ पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन् भने जमीन्द्रमान घले पूर्व संविधानसभा सदस्य हुन्।
त्यस्तै, धनञ्जय दवाडी २०७४ सालको निर्वाचनमा लमजुङ प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए भने लक्ष्मीदेवी अधिकारी बेंसीसहर नगरपालिकाकी पूर्वउपप्रमुख हुन्।
सिफारिस गरिएकामध्ये कृष्णप्रसाद अधिकारी र घले भने गत २०७९ को निर्वाचनमा क्रमशः लमजुङको प्रदेशसभा ‘क’ र ‘ख’ बाट पराजित भएका थिए।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया