काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ बन्दसूची पेस गरेका सबै ६४ वटा दलका बन्दसूचीमा त्रुटि भेटिएको छ।
निर्वाचन आयोग अन्तर्गत समानुपातिक निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस १३ र १४ गतेको समयसीमाभित्र ५४ वटा दलले ५८ वटा निर्वाचन चिन्ह प्रयोग गरी बन्दसूची पेस गरेका थिए। जाँचबुझका क्रममा ती सबै दलका बन्दसूचीमा कुनै न कुनै प्रकारका त्रुटि फेला परेको हो।
नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायत सबै ६४ दलले पेस गरेको बन्दसूचीमा कतै प्राविधिक त कतै कानुनी कमजोरी देखिएको एक उच्च अधिकारीले जानकारी दिए। उनका अनुसार ती सबै दललाई बन्दसूची सच्याउन तथा संशोधन गर्न आइतबार साँझसम्म पत्राचार गरिसकिएको छ।
निर्वाचन आयोगका अनुसार ६४ दलले ५८ वटा निर्वाचन चिन्हमार्फत समानुपातिकतर्फ कुल ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेस गरेका छन्। जसमध्ये ६ वटा दलले कानुनअनुसार न्यूनतम आवश्यक ११ जना उम्मेदवारको नाम मात्रै समावेश गरेका छन्।
बन्दसूची पेस गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिममा नेपाली काँग्रेसले बन्दसूची पेस गरेको हो। आयोगका अनुसार ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिन्हमा भाग लिएका छन् भने १० वटा दलले ४ वटा साझा निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिक निर्वाचनमा भाग लिन बन्दसूची पेस गरेका छन्।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार













प्रतिक्रिया