काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब चार घण्टा लामो छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक विषयमा विस्तृत कुराकानी भएको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार दिउँसो करिब ११ बजेदेखि साढे २ बजेसम्म प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच छलफल चलेको थियो। भेटको मुख्य एजेन्डा फागुन २१ गते हुने निर्वाचन रहेको बताइएको छ।

advertisement

बालुवाटार पुगेका अध्यक्ष ओलीले निर्वाचनको तयारी, समग्र अवस्था तथा सुरक्षाबारे प्रधानमन्त्रीसँग चासो व्यक्त गरेका थिए। यसका साथै उनले प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए। जवाफमा प्रधानमन्त्रीले निर्वाचनका सबै आवश्यक प्रबन्ध सरकारले मिलाइसकेको र ढुक्क भएर अघि बढ्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले एमाले निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय भएकोप्रति सन्तोष व्यक्त गर्दै बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीले महाधिवेशनसमेत सम्पन्न गरी चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक क्रियाकलापलाई निरन्तरता दिएकोमा धन्यवाद दिएकी थिइन्।

प्रधानमन्त्रीसँगको संवादमा अध्यक्ष ओलीले अनुकूल निर्वाचन वातावरण बनेमा एमाले चुनावबाट नभाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com