काठमाडौं । ऊर्जामन्त्रीका रूपमा कार्यरत रहेका कुलमान घिसिङले राजीनामा दिएपछि उनले सम्हालेका विभिन्न मन्त्रालयहरूको जिम्मेवारी अन्य मन्त्रीहरूलाई तोकिएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई अतिरिक्त कार्यभार प्रदान गरेका हुन्।
घिसिङले बुधबार साँझ पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका थिए। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
उनको राजीनामापछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री मार इङनामलाई तोकिएको छ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया