काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरी क्षेत्रमा बारम्बार झ्याप्प–झ्याप्प बत्ती जाने समस्या देखिन थालेको छ। लामो समयदेखि लोडसेडिङमुक्त भनिएको अवस्थामा पनि बिहान, दिउँसो र विशेषगरी साँझको समयमा बत्ती जाने–आउने क्रम बढेपछि उपभोक्ता हैरान भएका छन्।

advertisement

पछिल्लो एक हप्तादेखि प्रायः हरेक साँझ बत्ती जाने समस्या देखिन थालेको उपभोक्ताहरूको गुनासो छ। यसले पुनः लोडसेडिङ सुरु हुन लागेको हो कि भन्ने आशंका पनि बढाएको छ। खासगरी जाडो बढेसँगै हिटर, एसीलगायतका विद्युतीय उपकरणको प्रयोग बढ्दा माग पनि बढेको बताइन्छ।

तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत् अभावका कारण होइन, प्राविधिक समस्याका कारण बत्ती जाने गरेको स्पष्ट पारेको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार पछिल्ला केही दिनयता साँझको पिक समयमा कुलेखानी प्रसारण लाइन ट्रिप हुँदा प्रणालीमा समस्या आएको हो।

‘यो समस्या विद्युत् नपुगेर भएको होइन, प्राविधिक गडबडीका कारण मात्र हो,’ प्रवक्ता ढकालले भने। उनका अनुसार उक्त प्रसारण लाइनमा शुक्रबार सटडाउन गरी मर्मत तथा निरीक्षणको काम भइरहेको छ।

प्राधिकरणले प्राविधिक कारणबाहेक विद्युत् आपूर्तिमा कुनै कटौती नभएको जनाएको छ। यद्यपि बुधबार ऊर्जा मन्त्री पदबाट कुलमान घिसिङले राजीनामा दिएसँगै फेरि लोडसेडिङ फर्किने हो कि भन्ने चर्चा सार्वजनिक रूपमा चल्न थालेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा बारम्बार बत्ती जाने समस्या देखिएको उपभोक्ताहरूले बताएका छन्। उपत्यका मात्र नभई देशका अन्य सहरी क्षेत्रहरूमा पनि निरन्तर बत्ती जाने गुनासो बढ्दै गएको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com