एजेन्सी । इरानमा इस्लामिक शासनविरुद्ध जेन–जी नेतृत्वको विरोध प्रदर्शन तीव्र बन्दै गएपछि सरकारी दमन झन् कडा बनेको छ। राजधानी तेहरानसहित विभिन्न शहरमा सुरक्षा बलले गोली चलाएको घटनापछि ठूलो संख्यामा प्रदर्शनकारीको ज्यान गएको दाबी सार्वजनिक भएको छ।
नाम नखुलाउने सर्तमा तेहरानका एक चिकित्सकले टाइम पत्रिकालाई दिएको जानकारीअनुसार तेहरानका छ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता भएको छ। मृतकमध्ये अधिकांश गोली प्रहारबाट मारिएका बताइएको छ। यद्यपि, यी तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको टाइम पत्रिकाले जनाएको छ।
यदि उक्त संख्या सही ठहरेमा, यो इरानमा पछिल्ला वर्षहरूकै सबैभन्दा कठोर सरकारी दमनमध्ये एक हुने विश्लेषकहरूको भनाइ छ। विरोध प्रदर्शन सुरु भएसँगै सरकारले देशभर इन्टरनेट र टेलिफोन सेवा प्रायः पूर्ण रूपमा अवरुद्ध गरेको छ।
डिसेम्बर २८ मा आर्थिक संकटको विरोधबाट सुरु भएको आन्दोलन अहिले इरानका सबै ३१ प्रान्तमा फैलिएको छ। प्रदर्शनकारीहरूले इस्लामिक शासनको अन्त्य र राजनीतिक स्वतन्त्रताको माग गर्दै “स्वतन्त्रता” र “तानाशाह मुर्दावाद” जस्ता नारा लगाइरहेका छन्।
उक्त चिकित्सकका अनुसार, आन्दोलन चर्किँदै जाँदा सुरक्षा बलले केही क्षेत्रमा प्रदर्शनकारीमाथि सिधै गोली चलाएका थिए। शुक्रबार अस्पतालहरूबाट शव हटाइएको र मृतकमध्ये धेरैजसो युवा रहेको उनले बताएका छन्। उत्तरी तेहरानस्थित एक प्रहरी चौकी नजिकै भएको गोलीकाण्डमा दर्जनौँ प्रदर्शनकारी घाइते तथा कैयौँको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ।
यद्यपि अधिकांश र्यालीहरू शान्तिपूर्ण रहेको बताइए पनि केही स्थानमा सरकारी संरचनामा तोडफोड र आगजनी भएका खबरहरू आएका छन्। तेहरानस्थित अल–रसुल मस्जिदमा आगजनी भएको घटना पनि त्यसैको एक उदाहरण भएको जनाइएको छ।
इरानको राजनीतिक अवस्था थप अस्थिर बन्दै गएको संकेतका रूपमा यी घटनाहरूलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार













प्रतिक्रिया