काठमाडौं । नेकपा एमालेले अमेरिकाको भेनेजुएलामाथिको हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटना र अमेरिकी अदालतमा मुद्दा चलाउने कदमलाई अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको चार्टर, पञ्चशील र विश्व न्यायको सिद्धान्तविपरीत ठहर गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेपालको पञ्चशील सिद्धान्तमा अडिग रहेको भन्दै भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको भर्त्सना गरेका छन्।
उनी भन्छन्, ‘नेकपा (एमाले) हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटना र उनलाई अमेरिकी अदालतमा मुद्दा चलाउनु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको चार्टर, पञ्चशील र अन्तर्राष्ट्रिय उत्तरदायित्वको विपरीत भएको ठहर गर्दछ र यसको विरोध गर्दछ।’
अध्यक्ष ओलीले युक्रेनको भौगोलिक अखण्डता खण्डित हुने गरी भइरहेका छलफल, ग्रिनल्याण्ड नियन्त्रणको प्रयास, र गाजा तथा वेस्ट बैंकमा प्यालेस्टिनी जनतामाथि भइरहेको ज्यादतीप्रति आपत्ति प्रकट गरेका छन्।
ओलीले विश्व राजनीति अहिले अस्थिर, पूर्वानुमान गर्न नसकिने र जोखिमपूर्ण बन्दै गएको बताएका छन्। ‘नियममा आधारित प्रणाली कमजोर हुँदै गइरहेको छ, बहुपक्षीयता र अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदै गइरहेका छन्। संयुक्त राष्ट्रसंघको भूमिका र त्यसको नेतृत्वमा सञ्चालित सहयोग तथा पारस्परिक सम्मानका सिद्धान्तहरू कमजोर बनेका छन्।’
अध्यक्ष ओलीले शक्ति राष्ट्रहरूको अस्वस्थ प्रतिस्पर्धा, सार्वभौम राष्ट्रको भूभागबारे अन्य राष्ट्रको निर्णय, र राष्ट्राध्यक्ष वा नेताहरूमाथि हत्याको धम्की तथा अपहरणजस्ता गतिविधिको निन्दा गरेका छन्।
साथै उनले भने, ‘एकातिर आतङ्कवादको भयावह आक्रमण, अर्कोतिर त्यसलाई नियन्त्रण गर्ने नाममा हजारौँ निर्दोष व्यक्ति, बालबालिका र महिलाहरूको हत्या जस्ता घटनाहरू देखिएका छन्। कृत्रिम बौद्धिकता र सूचना प्रविधिको बढ्दो प्रयोगले नयाँ प्रकारको असुरक्षा र तनाव उत्पन्न गर्दैछ। जलवायु संकटले मानव जातिको अस्तित्वमै खतरा निम्त्याउन थालेको छ।’
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया