काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार परित्याग गरेपछि मुलुकले भोग्दै आएको राजनीतिक, आर्थिक तथा सामाजिक संकटप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले विगत करिब दुई दशकको अवधिमा देशको अवस्था झन् जटिल बन्दै गएको उल्लेख गरे । ‘हिजो देश बन्न सकेन कि भन्ने चिन्ता थियो, आज त देश नै जोगिन्छ कि जोगिँदैन भन्ने निराशा पैदा भएको छ,’ पूर्वराजा शाहले भनेका छन् ।

advertisement

उनले भाषण, जादू वा चमत्कारबाट मुलुक नबन्ने स्पष्ट पार्दै राष्ट्रिय एकता, जिम्मेवारीबोध र सामूहिक प्रयासबाट मात्रै देश अघि बढ्न सक्ने धारणा राखे । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा रहेको राजसंस्थाले जनताले सुम्पिएको जिम्मेवारीबाट विमुख हुन नसक्ने उनको भनाइ थियो ।

पूर्वराजा शाहले झण्डै दुई दशकअघि शान्ति, आर्थिक प्रगति र स्थायित्वको अपेक्षासहित सत्तामा पुगेका राजनीतिक दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासोका रूपमा सुरक्षित निकायमा बुझाएर सहयोगी भावनासहित राजकाजबाट अलग भएको पनि स्मरण गराए ।

पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनले आधुनिक नेपाललाई ‘चार वर्ण, ३६ जातको साझा फुलबारी’का रूपमा परिकल्पना गरिएको उल्लेख गरे । यो देश केवल राजाको मात्रै नभई जनता र राजाको समान स्वामित्वको राष्ट्र भएको सन्देश पृथ्वीनारायण शाहले दिएको उनको भनाइ थियो ।

अन्त्यमा, पूर्वराजा शाहले सबै नेपालीले कर्तव्यबोधका साथ राष्ट्रिय एकता र समृद्धिको मार्ग—‘पृथ्वीपथ’—मा अघि बढ्नुपर्ने आह्वान गरेका छन् ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com