काठमाडौं । इरानभर सरकारविरोधी प्रदर्शन तीव्र बन्दै जाँदा सरकारी निकायहरूले प्रदर्शनकारीहरूलाई कडा चेतावनी दिएका छन् । राजधानी तेहरानसहित विभिन्न शहरमा झडप बढेपछि अस्पतालहरू घाइतेले भरिन थालेका छन् ।

बीबीसीसँग कुरा गरेका दुई अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीका अनुसार घाइतेहरूको संख्या अत्यधिक छ । तेहरानको मुख्य आँखा अस्पताल फराबी ‘संकटको अवस्था’मा पुगेको एक डाक्टरले बताए । अत्यावश्यक बाहेकका भर्ना र शल्यक्रियाहरू स्थगित गरिएका छन् भने आपतकालीन सेवाका लागि अतिरिक्त स्वास्थ्यकर्मी बोलाइएको छ । दक्षिणपश्चिमी शहर शिराजका एक स्वास्थ्यकर्मीले पनि अस्पतालमा पर्याप्त शल्यचिकित्सक नहुँदा उपचार कठिन भइरहेको बताए ।

advertisement

यसअघि टाइम म्यागजिनसँग कुरा गरेका एक इरानी डाक्टरले तेहरानमा मात्र २१७ जनाको मृत्यु भएको दाबी गरेका थिए । मानव अधिकार समूहहरूका अनुसार हालसम्म कम्तीमा ५० भन्दा बढी प्रदर्शनकारी र १५ सुरक्षाकर्मी मारिएका छन् भने दुई हजारभन्दा बढी पक्राउ परेका छन् । नर्वेस्थित इरान मानव अधिकार संस्थाले नौ बालबालिकासहित कम्तीमा ५१ जनाको मृत्यु भएको जनाएको छ ।

देशभर दर्जनौं शहरमा फैलिएको आन्दोलनका बीच बिहीबार साँझदेखि इरानमा इन्टरनेट लगभग पूर्ण रूपमा बन्द गरिएको छ, जसले स्वतन्त्र सूचना संकलन कठिन बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई पनि इरानभित्र रिपोर्टिङ गर्न कडा प्रतिबन्ध छ ।

अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू पनि तीव्र बनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘गम्भीर समस्यामा’ रहेको टिप्पणी गर्दै सुरक्षाबलले गोली चलाए कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण विरोधको अधिकारको सम्मान गर्न आग्रह गरेका छन् । फ्रान्स, बेलायत र जर्मनीका नेताहरूले पनि संयुक्त विज्ञप्ति जारी गर्दै इरानी अधिकारीहरूलाई नागरिकको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न आह्वान गरेका छन् ।

यसको विपरीत, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले कडा अडान लिँदै इस्लामिक गणतन्त्र ‘विनाशकारी तत्वहरू’का अगाडि नझुक्ने चेतावनी दिए । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् र रिभोलुसनरी गार्ड्सले प्रदर्शनकारीविरुद्ध निर्णायक कानुनी कारबाही हुने स्पष्ट पारेका छन् ।

यता, इरानका अन्तिम राजाका छोरा रेजा पहलवीले आन्दोलनलाई समर्थन गर्दै थप लक्षित प्रदर्शन गर्न आह्वान गरेका छन् । यद्यपि, पूर्व बेलायती राजदूत सर साइमन ग्यासले संगठित वैकल्पिक नेतृत्वको अभावका कारण छिटो निष्कर्षमा नपुग्न चेतावनी दिएका छन् ।

इरानले संयुक्त राष्ट्रसंघमा अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ भने अमेरिकाले ती आरोप अस्वीकार गरेको छ । परिस्थिति अझै जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com